निराजन प्रभात लुइँटेल -
म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ, उनलाई केही त भएन? भाइ फटाहा छ कतै झगडा त गरेन?
यस्ता अनेक शंकाले मनमा डेरा जमाए। अझै मिसकल आउने क्रम रोकिएन। फोनमा ब्यालेन्स थिएन। फोरमेनसँग अनुमति लिएर म दुकान गएँ।
घरको नम्बरमा फोन गरेँ। उताबाट रुन्चे स्वरमा ‘हेलो’ भन्यो। त्यो मेरो ४ वर्षको छोरा थियो। ‘बाबु के भो,’ मैले अड्किँदै सोधेँ।
“बाबा, के हजुर मलाई माया गर्नुहुन्न? किन हजुर सधैँ हामीलाई एक्लै छोडेर दुर देशमा जानुहुन्छ? बाबा मलाई दिनेशले जस्तै बाबासँग घुम्न जानुछ। हरीको जस्तै बाबासँग स्कुल जानुछ। अनि प्रीतिको जस्तै बाबासँग ब्याडमिन्टन खेल्नुछ। बाबा, हजुर आउनु न ल,” उसले एकै सासमा बोल्यो। सुँक्कसुँक्क आवाजले यो छाती कम्ता पोलेन, औडाहा भो मलाई।
“ल हेर यो कोसँग कुरा गर्दैछ,” मेरी श्रीमतीको आवाज “खोइ फोन ले,हेलो को बोल्दै हुनुहुन्छ ?”
“कल्पना म नरेशको बाबा ” मैले जवाफ दिएँ।
“ए हजुर पो धेरै फोन नगर्नुस भनेको हजुरले टेर पुच्छर लाउने होइन। फोनमा किन धेरै खर्च गर्नुहुन्छ हजुर। हप्तामा यसो एक पटक फोन गर्दा भैहान्छ नि। हेर्नुस् हजुरले धेरै कमाउनु छ, नेपालको यो महंगीमा बुबाको ओखती,भाइको कलेजको फ्री,छोराको बोर्डिङको फी- यी सबै गरेर घरमा महिनाको २०,००० खर्चले पुग्दैन।”
“आफ्नो बारी छैन, सबै किनेको भरमा चलाउनु पर्छ घर। हजुरको डुकु भाइ केही काम गर्ने होइन, सधैँ मुङ्ग्रो बोकेर हिँड् क्रिकेट कि प्रिकेट भन्दै।”
“भान्सा कोठामा सामान थप्नु थियो, पैसा छैन। नेपालको बिजुलीको भरोसा छैन। इन्भर्टर जोड्न पाए सजिलो हुन्थ्यो। गर्मीले बालाई सुत्न कठिन भो रे, फेन चलाउन सजिलो हुन्थ्यो। छोरा पनि रात भर गर्मीले सुत्न सक्दैन।”
“अनि तिमी नि,” बीचैमा प्रश्न गरेँ।
“मेरो छोड्नुस, हजुर आफ्नो ख्याल गर्नुस्, जे पायो त्योमा खर्च नगर्नुस् नि। हाम्रो त यस्तै भो जीवन, यो छोराको भविष्य राम्रो होस् बस। ल हजुर, गाई कराउँदै छ म जान्छु,आफ्नो ख्याल गर्नुस्।”
फोन त कट्यो तर मेरो दिमाग भद्रगोल भो। एकातिर छोराको तोते बोलिको बोलावट अर्को तिर बिचरी बुढिको आशा अनि भविष्यको चिन्ता। जाउँ छोरालाइ माया दिन, सबको भविष्य अँध्यारो। नजाउँ बिचरा छोराको आँसुको बेहाल। आखिर म के गरौँ?
सोचमा डुबेँ म।
सोचमा डुबेँ म।
“दाहाल जी, के भो किन रोएको ??”
सँगै काम गर्ने साथीको आवाजले म झस्किएँ। थाहा नै नपाई आँसुहरु आखाँको मुहान हुँदै गालाको भिरबाट खसेसछन पत्तो नै भएन।
समाप्त।
0 सुझाबहरु:
Post a Comment