Sunday, October 26, 2014

संस्मरण-तिहारले रुवाउदा!

                         हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा मैले बालाई सोध्ने आँट गरिन त्यो बेला,आज सोच्दा लाग्छ ठिकै गरेछु।गाउँ घरमा तिहारको रमाइलो सुरु भैसकेको थियो,तर मलाइ तिहारको रौनकले छोएको थिएन,सबै देउसी खेल्ने पैसा भेला गर्ने योजना बुन्दै थिए,तर म भने अझै भगवानलाइ किन दिदी,बहिनी नदिएको प्रश्न गरेर दिन बिताउदै थिएँ।यो तिहार म जस्ता दिदी बहिनी नहुनेलाइ रुवाउननै आएको हो भन्ने लाग्न थालेको थियो।
                       त्यो  उमेरमा तिहार भनेको डाइस खेल्ने,पटका पड्काउने,अनि देउसी खेलेर पैसा जम्मा गर्ने भन्ने न थियो।उमेरले गराएको होला त्यो सब,सबैलाई।मेरो दाजु पनि खुशिनै थियो,तर म भन्ने अलग जन्तु परेछु सधैँ तनाव,सधैँ चिन्ता।कस्तो दैवको खेलपनि न ठुलोबाबाको छोरी थिए,म मेरो बाबाको। काकाहरूको भने विवाहनै भएको थिएन।ठुलोबाबाको पनि दुई भाइ तिग्रेमात्र हामी पनि।ठूलोबाबाको एक जना छोरी हुनुहुन्थियो रे,हामी भाइहरुलाई धेरै माया पनि गर्ने रे तर खोइ औलो हो कि के रोगले उहाँलाई टिपेर लग्यो रे,यो घटना सुनेर त झन् मेरो मन यो भगवान् देखि उठयो,भगवाननै छैन भन्ने भएको थियो।त्यसैले मैले त्यो समयमा मन्दिर कहिले धाइन,मेरै उमेरका साथीहरू आमा दिदी सँग मन्दिर जान्थे तर मलाइ त्यो रहर पलाएन,आखिर हुँदै नभएको देवतालाई किन पूजा गर्ने होला?त्यस माथि लक्ष्मी प्रसादको कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता अंकल(छिमेकी)ले पढेको सुने मलाई आगोमा घ्यु भयो।सबै तिहारमा लक्ष्मी पूज्ने म भने बाहिर खुल्ला आकाशमा त्यो कालो रात हेरेर बस्थे।आज आएर हेर्दा म पूरा नास्तिकनै पो रैछु कि जस्तो लाग्छ।