Saturday, August 6, 2016

कविता - रहर र बाध्याता !!


जीन्दगीको क्यानभासमा
स्मृतिको कुचीले कोरिन्छन केही चित्र 
प्रकृतिको रंगहरुको लेपन लगाएर
खोलाहरुको
झरनाहरुको
सुन्दर संगीतमा
माथिङ्गल फिरफिराइउछ
एक अनौठो सकस उत्पन्न गराउछ ।
यसै बीचमा
बल्झिन्छ —आगत
झस्किन्छ— वर्तमान
अनि—
झिलमिलाउछ— भविस्य ।

सपनाहरुको मीठो उडान भर्दै
खाडी भाँसिएको अ—नाम मानिस
तन जल्ने तापमानको उग्रता सँगै जल्छन सपना
तुहिन्छन रहर
अनि शुरु हुन्छ
एक ला...........मो
अत्यास लाग्दो दैनिकिहरु ।
ह्याङगरमा झुण्डिएको बोइलर सुट
पसिना चुस्न तयार मरुभुमी
उहीँ —
तालु खुइले हाकिम
उहिँ —
आलामको गिज्यावट
उहीँ—
स्यायायाया आवाजमा—
नाम मात्रको चिसो फ्याक्ने एसि
एल्ला सुराका बेसुरे धुन
मेसिनका एकोहोरो नाराबाजी
हुल भित्रको एक्लोपन
एक्लोपन भित्रको निराशा
दू...........र को खगोल
त्यो खगोल भित्रको एक टुक्रा देश
दुख्छ देश
आँसुहरुको असार
मुटुको रुखो ढुकढुक ढुकढुक
सेफ्टी मेटहरुको अंगालो
अह मेटिन्न दाग बेल्चाहरुको
यीनै दुखहरुको एक खोल्सो भित्र
खोज्छ अनगिन्ती
सपनाहरु
आमाको दमको निदान
बाबुको चिनीरोगको ओखती
श्रीमतीको आत्मियता
छोराछोरीको भविस्य
अनि खोज्छ
आफुलाई आफू भित्र
आफू उभिएको खगोललाई
सोध्छ
आफू माथी लमतन्न ढाकिएको आकाशलाई सोध्छ
अनि
उ त्यो परको आधा मात्र बुझिने भाषामा काम लगाउने हाकिमलाई सोध्छ
आखिर
म को हुँ ??
के गुमाइरहेछु
बदलामा के पाइरहेछु ?
यो पसिनाको स्नानले के सपना किन्न सकिन्छ ?
यो हातको ठेलाले
के आफ्नाहरुको आफ्नोपन किन्न सकिन्छ ?
यो ग्यासले भरिएको पेटले घरमा आगो बल्छ ?
यो तनाबले भरिएको माथिङ्गलले घरमा खाना पाक्छ ?
साँच्चै अनौठो हुन्छ है
रहर भित्रको बाध्यता
अनि
बाध्यता भित्रको भविस्य !!

No comments:

Post a Comment