Wednesday, August 17, 2016

कविता - स्वप्न

हो 
भव्यताले सजिएर
धरामा झुकोस नभ
बादलबाट अमृत वर्षा होस्
झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममा
रोकियोस दुनियाँ टक्क
अनि ठप्प होस्
पवनको चाल
मात्र
धड्कियोस तिम्रो मुटु
प्यारको घडाले टिलपिल भएर
सेताम्य हिमालले ओछ्योस आफ्नो बदन
अनि त्यो ओछ्यानमा गुराँसले वर्षा गरोस रंगिन लतिलाहरुको
कल्प कल्प निदाउन पाउ त्यो काखमा
कौमार्यले उत्तेजित वासना छरियोस केशबाट
काख मखमली गद्दा होस्
खेलाउदै बक्ष,
हराउन पाउ अलौकिक युगमा
नापेर मायाको आयतन
जोखेर प्रेमको तौल
अह !
खोज्नु नपरोस् अर्को युग ।

बगेर जाउन -
जसरी बगेर जान्छन् नदीहरु
उडेर जाउन -
जसरी उडेर जान्छन् सिमलका भुवाहरु
छोडिउन -
जसरी बटुवाले छोड्छन चौतारी
हो !
त्यसै गरेर
हामी नि बग्नु पर्छ -
अतीत देखि
हामी पनि उड्नु पर्छ -
कोलाहल देखि
हामी पनि छोड्नु पर्छ -
नाताहरुको पासाहरु ।
कुदेर भव्य ताज महल
रोपेर रातो गुराँस
सझाउनु पर्छ
प्रेम युग हामीले पनि
बस्
कालले सुटुक्क नचोरोस हाम्रो आयु
बस प्रेम भर्जिन होस्
पहेलो घाम जस्तै
अनि लहलह छल्कियोस पहाड, हिमाल अनि तराईका फाटफाटमा
अनि
बैशले लपेटिएर
उत्तेजना फैलाओस दूर दूर क्षितिज सम्म
हो
अराजक मायाको गर्भ बसोस तिम्रो गर्भमा
अनि जन्मियोस एक अराजक सन्तान
जसले
हुण्डरी ल्याओस हर दिलमा
जसले
सुनामी ल्याओस हर मस्तिष्कमा
अनि कोरोस
एक अराजक प्रेमको क्यानभास
बनाओस
प्रेमनै प्रेमको एक सुन्दर नगरी ।
हो !
मेरो अन्तिम ईच्छा यति छ
म हेर्न चाहन्छु
हर -
फाटमा प्रेम रोपिएको
हर -
गल्ली गल्लीमा प्रेम फलेको
अनि -
हर -
प्रेम इतिहासमा हाम्रो नाम ।।

No comments:

Post a Comment