Monday, August 22, 2016

कविता- नयाँ चोट जन्माउनु छ

आगतले दिएका चोटका खतहरु
सुक्न नपाउदै
नियतिले अर्को चोट थपाइदिन्छ ललाटमा
कुटि रहन्छ समयले
अनुहारमै पन्जा मारी रहन्छ भाग्यले
जीतहरुको घाम नलागेको यूग भयो हाम्रो बस्तिहरुमा
क्रूर वर्षा गराउछ दैवले हाम्रै वस्तिमा
अनि हान्दिन्छ बज्र बार बार सफलताको गर्भमै ।
फूल्न छेडेका छन् प्रेमफूल मनको बगैचामा
डुल्न छाडेका छन् भ्रमराहरु प्रेमको सौगात छर्दै
हारका डिलहरु उक्लिदा उक्लिदै
कालले कलिङ्ग भिषा पठाउने बेला हुन्छ
जीन्दगीका पटाङ्गिनिहरु कुण्ठा,डर अनि असफलताका
डरलाग्दा ऐजरुहरुले ढाकिएका छन
पख्नु, कुर्नु कति सम्म
लाग्छ जीन्दगि यतैको फेरिस्तामा रोज हुन्छ
समय भने एकोहोरो शंख बजाएर मलामी खोजी रहन्छ ।

Wednesday, August 17, 2016

कविता - स्वप्न

हो 
भव्यताले सजिएर
धरामा झुकोस नभ
बादलबाट अमृत वर्षा होस्
झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममा
रोकियोस दुनियाँ टक्क
अनि ठप्प होस्
पवनको चाल
मात्र
धड्कियोस तिम्रो मुटु
प्यारको घडाले टिलपिल भएर
सेताम्य हिमालले ओछ्योस आफ्नो बदन
अनि त्यो ओछ्यानमा गुराँसले वर्षा गरोस रंगिन लतिलाहरुको
कल्प कल्प निदाउन पाउ त्यो काखमा
कौमार्यले उत्तेजित वासना छरियोस केशबाट
काख मखमली गद्दा होस्
खेलाउदै बक्ष,
हराउन पाउ अलौकिक युगमा
नापेर मायाको आयतन
जोखेर प्रेमको तौल
अह !
खोज्नु नपरोस् अर्को युग ।

Tuesday, August 9, 2016

प्रेम !!


हामी भित्रका केही पेरुङ्गा प्रेम
केही थुन्से आत्मियता
केही डोका आत्मविश्वास
बोकेर
उ.......कालो नै उकालो चढ्नु छ जीवनको
हावाको केही झोक्का टिपेर भर्नु छ फोक्सो
अनि छुनु छ त्यो सफलताको एक पित्को चुचुरो ।।
हो
माया भित्रको माया
प्रेम भित्रको प्रेम
उनी भित्रको उनी
अनि म भित्रको म
उदिन्नु छ
सुम्सुमियाउनु छ
अनि राख्नु छ
यो ढुकढुक ढुकढुक गर्ने मुटुको भित्री भागमा

Saturday, August 6, 2016

short ...कविता

जिन्दगीको थुन्से भरी
सपना बोकेर
सपनाको जन्ती हिडेको
अ - नाम मान्छे ।
शितले फुटेका कुर्कुचा जस्ता
भाग्यरेखा
बीना पानी चिरा परेका खेतका गरा जस्ता
भविस्य
एउटा सुन्दर भविस्यको खातिर
वर्तमान दाउमा राखेर
उ.....कालो नै उ.... कालो
हिडिरहेको "म"
"म" हुनुको सगरमाथा
"म" हुन खोज्नुको
भुलभुलैया
जोखिमका खण्डहर
रहरका
भंग्नाशेस
नियतिको जातोले
उमेर पिस्दै पिस्दै
चढ्नु छ
जीवननामको
तारे भिर ।।

कविता - (....)

प्रसव बेदनाको पहाड बोकेर 
जन्मिएको संविधान
एक अपांग छोरा !
निरीह निरीह -
आमाहरु 
बाबुहरु
हेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएको
एक तमास छ आकाश
एकोहोरो रुदैछ बादल
झर्दैछ प्रसान्त सागर
अह !
पखालिएन दाग -
रजस्वलाको
नियती को ।
नियतीले बेस्मारी कुटिएको
जमिन
बन्जर बन्जर
बन्दैछ
समयका च्ट्याङ्गले त्राहिमाम
केही जोडी ढुकुर
भविस्यको सिकारमा पर्दैछन
तुहिदैछन गर्भाशय
बीना निसेचित डिम्ब र शुक्रकिटहरु ।

कविता - रहर र बाध्याता !!


जीन्दगीको क्यानभासमा
स्मृतिको कुचीले कोरिन्छन केही चित्र 
प्रकृतिको रंगहरुको लेपन लगाएर
खोलाहरुको
झरनाहरुको
सुन्दर संगीतमा
माथिङ्गल फिरफिराइउछ
एक अनौठो सकस उत्पन्न गराउछ ।
यसै बीचमा
बल्झिन्छ —आगत
झस्किन्छ— वर्तमान
अनि—
झिलमिलाउछ— भविस्य ।