Tuesday, August 4, 2015

संस्मरण - मित्रता जोगिएको दिन

यो मेरो लागी नितान्त नयाँ स्कुल थियो।जीवनमा मैले ७,८ वटा स्कुल परिवर्तन गरे हुला।बुबा प्रहरीको जागिरे हुनाले बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ त्यहाँ हामी पनि जान्थ्यौ।बिरालोले छाउरा सारे जसरी सार्नु बाध्यता ।जब देखी मैले मावल बसेर पढ्न थाले तब स्कुल फेर्ने रोग निको भयो। धेरै स्कुल धेरै मित्र,धेरै शिक्षक।कक्षा ८ पास गरेर म मावल देखी पैदन उकालो एक घण्टाको स्कुल भर्ना भएँ।पहाडी धरातल हुनाले त्यो भन्दा अर्को उपायनै थिएन।आज  स्कुलको मेरो पहिलो दिन,सँगै आठ कक्षा पास गरेर गएका केहि साथी बाहेक अरु सबै नयाँ थिए मेरो लगी।कक्षा कोठा नयाँ,स्कुल नयाँ साथमा नयाँ साथीहरु पनि  मैले त्यहाँ आफुलाई नयाँ देखाउनु थिएन।

साथीहरुले सोधपुछ गरेर कथा पत्ता लगाए र लागियो कक्षा तिर । पहिलो दिन हुनाले कक्षा फोहोर थियो,सबै मिलेर कक्षा सफा गर्ने कुरो भयो । सबै मिलेर सफा गर्दै थियौ, त्यसै ताका एक होचो होचो कदको,आँखा चिम्से चिम्से परेको हसिलो अनुहार भएको केटो कक्षामा प्रवेश गर्यो । सबैले दिल के छ ,हामी नयाँ जति चुप भयौ । उसले सबैलाइ गुड मर्निङ है भन्यो,हामीले पनि जवाफ फर्कायौ । पून हास्दै भन्यो लु लु कक्षा सफा चाँडै गरौ सर आउने बेला हुन लाग्यो । कक्षा सफा गर्ने  काम भयो,सबै गुरुरु हात धुन धारामा गयौ । नयाँ हुनाले म भने अलिक पर चुपचाप बसेको थिएँ,त्यो चिम्से आँखा भएले भन्यो नयाँ साथी किन पर लु यता आउनुस अनि हात धुनुस । उसको हार्दिकताले म गदगद भए । हात धोएर बाटोमा जादा उसले मेरो परिचय माग्यो,म अलिक लज्जालु प्रवृतिको  मान्छे,खासै बोल्न धक लाग्ने नयाँ मान्छे सँग,परिचित हुदा त म फेरि बिग्रेको रेडियो अरुले बोल्ने नो चान्स । मैले मेरो परिचय दिएँ र चुप लागे । उसले हात बढाउदै भन्यो म दिल कुमार गुरुङ । मैले पनि हात मिलाएँ, सोचे नयाँ नाता गाँसियो ।

उहीँ पुरानै दैनिकी पढ्ने खेल्ने हासी मजाक । यसै बिचमा केही साथी मिलेर अतिरिक्त गणित पढ्ने योजना बनायौ,आज सम्म यो स्कुलमा यो बिषय कसैके नपढेको हुदा हेडसर सुरुमा राजी हुनु भएन,यो विषय कठीन विषय हो,सानो तिनो मेहनतले केही हुन्न उहाँ को मत थियो । हामीले सरलाई वाचा गर्यौ,सरको कुरा मनन गरेर कडा मेहनत गर्नेछौ । यसरी हेडसर पनि राजी हुनुभयो । शुरुमा 12 जना साथीहरु भयौ अतिरिक्त गणित पढ्ने तर हप्ता दिनमा पाँच जनामा झर्यौ । उहीँ स्कुलका फस्ट दिल कुमार ,दोश्रा खेम राज,तेस्रो खड्ग  पाँचै मनोज अनि अर्को स्कुलबाट गएको म गरेर हामी पाँच सुरु गर्यौ नयाँ अध्याय । बि एस सि सर किशोरी लाल दास हाम्रो गणित,अतिरिक्त गणित र विज्ञान विषय पढाउने । तीन कक्षा लिने हुदा अनि अतिरिक्त गणित पनि पढाउने हुदा उहाँ सँग हाम्रो निक्कै राम्रो नाता जोडियो ।

आधा दिन पछि पाँचौं कक्षा अतिरिक्त गणित अनि पढ्ने हामी पाँच जना यसरी पाँचको संयोगलाई हामीले पाँच पाण्डप नाम दियौ आफुले आफुलाईनै पाँच पाण्डप घोषणा गर्यौ । छैटौ कक्षा सामाजिक हामीले कहिले लिएनौ,किन कि सामाजिक पठाउने सरको पढाउने शौली देखि हामी खुस थिएनौ,त्यसैले अघोषित कक्षा बहिष्कार सुरु भयो हाम्रो,त्यो समयमा हामी पाँच जना भागेर बरडाँडामा लुकेर चाउचाउ र चिउरा खान थाल्यौ । यसरी दुई तीन महिना बित्यो,झरी बिदा सुरु भयो ।अब बिदामा भेट नहुने चिन्ताले हामीलाई दुखी बनायो । यो बिचमा खेम दिल अनि मेरो मित्रता यति आत्मियताको शिखर चुमेको रहेछ त्यो बिदाले पो थाहा दियो । दिन बिते रात बित्न कठिन हुँदै 45 दिन काटियो । स्कुल लाग्ने पहिलो दिन मन फुरुङ भयो आत्मिय मित्रहरू सँग भेट हुने आशाले ।

दिल कुमार एक देखि ८ सम्म प्रथम भएको मान्छे,उसको लेखाइ टाइप भन्दा कम थिएन,सबै विषयमा अब्बल । मेरो साहित्यको पहिलो गुरु दिल कुमारनै हो,स्कुलमा भएको खुल्ला कविता प्रतियोगितामा मैले पहिलो पटक लेखेको कविता दोस्रो भएको थियो,लेख्न प्रेरणा दिने उहीँ दिल प्रथम । कक्षा ९ को सानो परिक्षामा उसको मेरो भन्दा दुई अंक बढी आएर उ प्रथम भएको थियो । त्यो परिक्षामा विषय नलगाइ पास हुने उ र म मात्रै । धेरैको विषय गणित र सामाजिकमा लाग्यो । गणित त कठिन विषय थियो नै तर सामाजिक ? त्यो रिजल्टले सामाजिक पढाउने शिक्षक माथी धेरै प्रश्न खडा भए । सानो परीक्षा पछि हामी सामाजिक पढाउने सरको नजरमा पर्यौ त्यसैले अघोषित कक्षा बहिष्कारको कार्यक्रम पनि त्यही बाट रोकियो ।
हामी सबै शिक्षकको नजरमा पर्यौ,कक्षा भित्र अनि आउट एक्टिभिटीमा पनि हामी दुईको एकछत्र राज चल्यो । वादविवाद ,हाजिरीजवाफ,निबन्ध लेखनमा हामी दुईनै प्रथम दोस्रो ।यो बिचमा हामी सबै स्कुलकै प्रीय पात्र भयौ । आज सम्झिदा पनि खुशी लाग्छ , अझै म खाडी छु भन्यो भने धेरै मित्रहरु साथमा शिक्षकहरु पत्याउनु हुन्न । किन मजाक गरेको भन्नू हुन्छ । मेरो जवाफ खाडीमा आउने सबै अदक्षमात्र छैन,अनि खाडी भनेर आखिर किन हामी नाक खुम्च्याउछौ ? श्रम गर्ने  हो जहाँ पनि श्रमिक अमेरीका भए पनि उ श्रमिक हो,श्रम उसको पूजा हो । बाध्यताको जंजिरले जकडिएर पढाइलाई अगाडी बढाउन नसक्नु,नेपालको राजनीति अस्थिर हुनु,रोजगार नहुनु,सरकारी जागिर हामी मध्यम वर्गको पहुचमा नहुनुनै खाडीको यात्रा हो,सहज आउन सकिने हुदा धेरैले यी गन्तव्य रोज्छन । यो कुरा सुनेपछी तर्कमा जित्न कसले सक्ने निराजनलाई मुस्कान सहित उहाँहरुको जवाफ यहि हुन्छ ।

ए ! कुरो कहाँ पो ठोकिन पुगेछ । धेरै यादगर अतीत छन् म सँग त्यो दुर्गा मा वि फूलबारी सँग ( हाल उच्च मावी ) हिजो आज सम्झिन्छु एउटा मीठो आत्मसंतुष्टी मिल्छ ।आखिर मैले कमाएको त्यो नै हो,जसलाई सम्हालेर राख्नु छ दिलमा दिमागमा ।झापाको सुगम ठाउँमा जन्मिएर ताप्लेजुङ जस्तो दुर्गम जिल्लाको एक गाउँमा बिताएका पल मीठा लाग्छन् । धेरैले किन झापा घर भएको मान्छे त्यो एक घण्टाको बाटो धाएर पढेको होला यो प्रश्न गर्थे,म मुस्कान फुकाउथे मात्रै । मेरो प्रफुल्ल मुस्काननै जवाफ थियो बुझ्नेलाई श्रीखण्ड । जीवन हो जीउनु छ बाध्यताको पहाड पार गरेर,दुख सुख ,आरोह अवरोह सँग पौठा जोरी खेलेर ।
धेरै छन् यादका केन्द्रमा तर हिजोको मित्रता दिवसले यो आलेख लेख्न मलाई हौसायो । र लेख्न बसे अह सक्दै सकिन,तार तार मलाई अतितका छालले हुर्यायो,म सम्हालिएँ पून अतितलाई लिपिबद्ध गर्न थाले,सोचे एक पल आफ्नै कुरा आफ्नै लेख्न ठीक होला? होइन अतीत हो अतीत भित्रको एक पाटो जुन धेरैलाई घटेको हुन सक्छ त्यसैले हैट लेख्नै पर्छ भनेर थाले लेख्न । यो लेख्न मलाई हौसला दिने मेरो दिदी सावित्रालाई साथमा मेरो श्रीमतीलाई धन्यवाद भन्न चाहन्छु । जीवनमा मित्रता कसरी गाँसिन्छ भन्दा पनि कसरी मित्रता रुपि दियो सानो हावाको झोक्काले निभाउन सक्छ त्योनै मुख्य केन्द्रबिन्दु हो यो संस्मरणको ।

जीवनका दिन गन्ती चल्दै गए,९ पास गरेर हामी १०मा गयौ । हामी पाँच जनाको मित्रता त्यसमा पनि दिल,म र खेमको मित्रता एउटा उदाहरण थियो स्कुलमै । एक दिन जनसंख्या पढाउने सरले भनेको कुरा सम्झिन्छु मन खल्लो खल्लो हुन खोज्छ । यो लुइँटेल ,गुरुङ र चापागाईं स्कुलकै जान्ने तर सबै भन्दा बिग्रेकापनि यिनिहरुनै ।राम्रो ९०% नराम्रो १०% भए पनि १०% नै हावी हुदो रैछ जसरी सेटो लुगामा सानो दाग देखिन्छ ।उमेरको प्रभावले अलिक हामीलाई १००% हुन दिएन राम्रोमा ।

हेर्दा हेर्दै सेन्टअप आयो सबैले बलबुताले भ्याए सम्म अध्ययन गर्यौ,आखिर फलामे ढोका अगाडी लमतन्न थियो,सानै देखि अरुले दिमागमा भर्देको "एस एल सि त कठीन" भन्ने हाउगुजी जो थियो । किताब हेर्दा पनि त्यो हाउगुजीले बेला बेला तर्साइ रहने । तर पनि हिम्मत गरेर सबै तयारीमा लागियो । सेन्टअप सकियो सेन्टअपको रिजल्ट आउनु भन्दा अगाडीनै केही सुराकी मार्फत हामी अग्रिम केही विषयको प्राप्ताङ पत्ता लगाउथ्यौ । एक दिन अतिरिक्त गणित,  गणित र बिज्ञान विषयको प्राप्ताङ हामी माझ आयो । यी सबै विषयमा दिलको भन्दा मेरो धेरै अंक थियो । मेरो खुशीको सिमा थिएन मेहनतको फल राम्रो नतिजा आउदा को मनुख्य होला खुशी नहुने ? खुशीले त्यो बेला मैले अरुको प्रतिक्रिया बुझ्न सकिन । मन त्यसै त्यसै नाँच्यो । यस्तै अंक ल्याउन पाए एस एल सिमा पनि मनले एक महिना पछाडी आउने परीक्षा सम्झियो।

भोलि स्कुल आए खेम आएको दिल आएकै थिएन त्यो बेला दुर्गाले शिक्षा विषयको प्राप्ताङ बतायो त्यो विषयमा पनि मेरै धेर आएको जानकारी पाउँदा मन त्यसै त्यसै पुलकित भयो ।हर्षले नाच्न सम्म भ्याएछु । किन किन मन यति पुल्पुलियो थाहानै भएन । दिल आज ढिला आयो, उसको मुहार वर्षिन आतुर बादलझै थियो,हिजोको जस्तो चकम थिएन,बोल्न पनि करले मात्र बोलेको जस्तो आभास भयो मलाइ । " दिल के भयो किन उदास ? यो साल सरस्वती पूजा मनाउने कुरा हुदैछ भव्य गर्नु पर्छ है ?" मैले सोधे
"खोइ के मनाउनु के नमनाउनु ?" करले जवाफ दियो उसले
मैले पून कर गरे " के भयो ? तिमी हिजोको दिल हुँदै होइन । " मैले मेरो  दुबै हात उसको कुममा राखेर झक्झक बनाएँ । उसले मेरो अनुहारमा हेर्यो ,हाम्रा आँखा जुदे । मेरो नजरमा विजयको आभा देखेर होला उसले आँखा नत गर्यो ।मेरो हात कुमबाट हटाउदै उ चुपचाप अर्को तिर लाग्यो । अरे के भएछ यो मान्छेलाई यस्तो मान्छे त होइन यो ? पक्कै यो उदासी,त्यो चुप रहनुमा केहि राज छ । अब मलाइ त्यो राज खोज्ने हुटहुटी भयो । मलाइ औडाह भएर आयो । कसलाई सोध्ने होला मैले केही गम खाएँ अह ! कोहि देखिन । त्यो दिन भर दिल भलिबल खेल्न पनि गएर,सधै अगाडीको डेक्समा बस्ने आज दोस्रोमा बस्यो । उसको हरेक व्यहार आज अनौठो छ । यसरी दुई,तीन,चार हुँदै पूरा  हप्ता बित्यो । उसले आफ्नो समस्या भनेन र आफू पहिले जस्तो भएन पनि । हज्जारै प्रश्न मेरो दिमागमा तेर्सिए,कतै प्रेममा धोका त खाएन? कतै परिवार सँग झगडा परेन ? यस्तै यस्तै ।
एक दिन घर जाँदै गर्दा खेमलाइ सोधे दिललाई हिजो आज के भएको रैछ ?
"यो सबै तिम्रो कारण हो ।" खेमले  फ्याट बोल्यो पून उ अक्मकायो ।
मेरो कारण ? म छाँगाबाट खसे जस्तो भएँ
"होइन होइन जिस्किएको ।" उसले कुरा सुधार्न प्रयास गर्यो तर अनुहारले साथ दिएन
"खेम सत्य सत्य भन यदी मलाई साथी मान्ने भए ।" साथीको नाता देखाएर उसको कुरा थुत्न चाहे
" केही होइन यार बेकार किन चिन्ता।" उसले सत्यता छोप्न खोज्यो तर सकेन
"ल ठीकै छ उसो भए म साथी होइन ?" घुर्की लगाएँ
उसले सल्लो झै सुसाउदै बोल्यो " तिमीले उसलाइ जितेकोमा उ चिन्तित छ,एक देखि आज सम्म प्रथम भएको अब प्रथम नहुने चिन्त हो उसको । "
खेमको कुराले मेरो वरिपरि घुम्यो,म थचक्क बसे,दुनियाँ अन्धकार लाग्यो, हैट  खेम के हो यस्तो , यसमा मेरो के दोष ?
" दोष न तिम्रो न उसको यो समयको हो । " उसले साधारण हुन ढाडस दिने असफल प्रयास गर्यो ।

भोलि कसरी भयो मलाइ थाहा छैन,म सुतेको तन्नाले कम्ता दुख आएन आज राती,रात भर कोल्टे फेर्दै बित्यो,बिहान हिजोको जस्तो थिएन,हुने कुरा पनि भएन,मन अध्यारो हुदा प्रकृतीको उज्यालो के उज्यालो । मान्छेले के के भोग्नु पर्छ है ? आफैले आफैलाइ प्रश्न गरे ।आखिर मेरो दोष के? अब कुरा छर्लङ्ग थियो तमोरको पानी झै मैले एउटा मित्र गुमाउदैछु । दुई सालको गाढा मित्रता एक परिक्षाले तोड्ने भयो,दैवले पनि अनेक खेल खेल्छन् । मैले अठोट गरे अब ज्ञानु सरलाइ भनेर दिललाईनै प्रथम बनाउन आग्रह गर्छु, म चाहन्न प्रथम हुन अनि चाहान्न एक आत्मिय मित्र गुमाउन ।एक रातको अनिदोले म पूरा पूरा थलिएको थिएँ । थिएन म मा हिजोको जस्तो ताजकी ,उत्साह , थियो त चुली पीडा ।
भारी मन ,शुन्यता भएको दिमाग अनि मानव आकृती बोकेर लागे म उकालो । शरिरलाई घिसार्दै घिसार्दै । आज रिजल्ट हुने दिन सम्भावित रिजल्ट पछीको पल याद गरे अह यो हुन सक्दैन ।

जब म स्कुल पुगे डिक बहादुर सरलाई स्कुल गेटमै भेटे । उनैले ल भाञ्जा बधाई छ ( मामाको साथी हुनाले उनले मलाइ भाञ्जा संबोधन गर्थे) तिमी र दिलले मात्र प्रथम डिभिजन ल्यायौ । तिमी दोश्रा दिल प्रथम । मैले अरु सबै भुले,सुनेर पनि सुनिन तर दिल प्रथम शब्दले मलाई यति खुशी तुल्यायो लाग्छ मैले लक्ष्य पाएकोछु । खुशीले म कराएँ अनि मन मनै धन्यवाद पनि भने भगवानलाई ।

© निराजन प्रभात
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive