Saturday, October 3, 2015

भोली हाम्रा सन्ततिले हामीलाइ धिकार्ने छन्

हाम्रो गाउँमा एक जना काका थिए,उनलाइ भागमा दही मोही नहुदा गाँसनै नछिर्ने , तर घरमा दुहुनो गाई भैंसी भने थिएनन् । सधै अरुकोमा मागेर काम चलाउने उनको बानी भै सकेको थियो । माग्नेलाई सधै कसले दिने? दिएमा पनि राम्रो कसले दिने ? तर पनि दारा ङचियाएर माग्न छोडेनन । एक दिन गाउँकै एक काकीले माग्न जादा मुख भरीको जवाफ दिइन् – ” गरेर खानको लोभले कति माग्छौ हो भाइ ? गरेर खानुको मज्जानै अलग हुन्छ । मेहनतको फल खाने गर्नु । ” एक दिन बजारबाट फिर्दै गर्दा ती काकाले एउटा सानो सानो गाई अनि गाईको बाछो पनि घिसार्दै आएको देखे । के हो काका गाई किनेर ल्याउनु भएको? मैले प्रश्न गरे । हो त भतिज कति माग्नु, आफुलाई नखाइ पनि हुन्न, त्यसैले किनेर ल्याएको । यसरी छिमेकीको इखले काका सुध्रिनु भयो,उहाले गाई घरमा ल्याएर मात्र बस्नु भएन, गाईलाइ घाँस हुन्छ भनेर दस कठ्ठा जग्गा अधिया गर्न थाल्नु भयो । दिन भर चोकमा क्यारेम खेल्न, अनि चोकमा राजनीतिक गफ दिन पनि छोड्नु भयो । उहाँले पौरख गरेर व्यस्त अनि स्वास्थ जीवन बिताउन थाल्नु भयो ।

माथीको काकाको जीवन कहानी एउटा उदाहरण मात्र हो , आखिरमा भन्न खोजेको कुरा आफू सँगै श्रम जागर हुदा हुँदै हामी मागेर खान पल्लिएका छौ । छिमेकीले जति गाली गरेपनि दुई दिन रीसाउछौ यात अर्को छिमेकीको सरण पर्छौ । आखिर यो कहिले सम्म ? के छैन हामीमा प्राकृतिक सम्पदाको धनी हामी छैन त हामीमा लगन,जोस अनि राजनीतिक स्थिरता । तिरासी हजार मेगावाट जलविद्युत क्षमता छ भन्दै सधै घोक्छौ तर त्यो क्षमताको सदुपयोग कसरी गर्ने सोच्दैनौ । परनिर्भरता यति गाँजिएकोछ कि निकाल्न नसक्ने अवस्था भएको छ । अरुले दिन्छ,अरुले बनाउछ हामी किन गर्ने ? यो बिचारले हामी दास हुदैछौ, एक्काइसौं शताब्दीको आधुनिक दास । अब बेला भएको छ हामी उठने ,जाग्ने अनि लम्किने । हिजो सम्म भारतमा निर्भर हामी आज भारतलाई गाली गर्दै,सराप्दै चिनको आशामा मुख ताकेर बसेका छौ । आखिर कहिले सम्म मुख ताक्ने ? आफू सँग हुँदै नएको त ठीक छ तर भएकोलाई त सदुपयोग गर्न सिकौ । श्रम,बल अनि विवेक कहिले सम्म पलायन गर्ने ? खाडीमा हामीले पसिना बगाएर सिकेको ज्ञान अब प्रयोग गर्ने बेला भएको छ । हामी सँग दक्ष जनशक्ति छ जुन सुकै क्षेत्रमा पनि तर हामी आफै देशले केही दिएन भन्दै पलायन हुदैछौ । अब स्वरोजगारको बाटो समात्ने समय भएको छ । आशा गरौ सरकारले पनि यो विषयमा केही गम्भीर निर्णय गर्ने छ । कि सरकार अझै युवा बेच्नै चाहन्छ भने हामी बेचिनु हुन्न ,आफ्नो लागि आफै गर्नु पर्छ । हुन त हाम्रो समाज अझै उस्तै छ , म बिदेश जान्छु भन्दा थपक्क गोजीबाट पैसा दिन्छन् ,यदि म नेपालमै केही गर्छु भन्यो भने असहयोग आफ्नै घरबाट हुन्छ यो मेरो आफ्नो अनुभव पनि हो सबैमा लागू नहोला तर सयमा नब्बे प्रतिशत यस्तै छन् हाम्रा परिवार ,अनि साहुहरु पनि ।
समयले एउटा गतिलो मौका दिएको छ,भारतले नाकाबन्दीको धमास गरेर बेफाइदा भएको छैन यदि बुझ्न सक्ने भए फाइदै फाइदाको लर्को छ । जस्तो हामी कस्तो छिमेकीको आशमा रैछौ ? हामी भित्र केही छ भनेर अब देखाउन सक्छौ । एउटा भाइचारा , अनि युग देखि अखण्ड , स्वाभिमान भएको देश नेपाली अनि जनता नेपाली हौ यो देखाउने मौका दिएको छ । अब पनि नबुझ्ने अनि भारत नभए चीन छ नि भन्ने लाटो बुद्धि गर्ने भए बुझे हुन्छ, आफ्नो संतानलाई स्कुल नपठाए हुन्छ, केही समय कुरेर पासपोर्ट बनाइदिए हुन्छ । आखिर हाम्रो रगतमा आत्मनिर्भर भन्ने जन्तुनै छैन,रगत होइन पानी बग्दैछ । हाम्रो इतिहासमा पनि शंका छ मलाई , वीर गोर्खाली होइन हामी उहिले देखि परनिर्भर अनि हारेको जाती रैछौ । पुर्खाको इतिहासमा कालो पोत्ने या जाग्ने अब हामीले निर्णय गर्ने हो त्यो पनि चाँडै । सम्भावना खोज्नुपर्दैन हामी सँग अनेक सम्भावना छन्,मात्र सम्भावनाको पहिचान गरेर त्यसमा लगानी गर्नु छ । श्रम सीप अनि लगानी हामीमा कम छैन । आउनुस अब फुटेर होइन जुटेर अगाडी बढौ । एक ढिक्का भए नहुने केही छैन । जात धर्मलाई पाखा राखेर एक भए हामी पनि नयाँ नेपाल निर्माण गर्न सक्छौ । नत्र पूर्खामा जसरी हामी गर्व गर्छौ भोली हाम्रा सन्ततिले हामीलाइ धिकार्ने छन् । इतिहास बनाउने यो घडीमा जुटौ ,हातमा हातमा साथमा साथ दिउ , अनि सुन्दर शान्त देश निर्माण गरौ । गरे के हुन्न ? चीन जापान किन अगाडी बढे एक पटक इतिहास हेरौ अनि हामीमा त्यो इतिहास लागू गरेर समुन्नत देश निर्माण गरौ ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive