Friday, October 17, 2014

जात गएन तर पनि त्यो दशै राम्रो भएन

कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ बीना रोक ठोक चल्दैथियो । हजुरबुवा ,हजुरआमा ,मामा,माइजू,सानिमा सबैको प्यारो म । खुशिको सम्सर्गमा जीवन कति चाडो चिप्लिदो रैछ त्यो अहिले बुझ्दैछु। यो मनले आज पनि भन्छ,फेरि बच्चा हुन पाएँ,ती आन्मिय मनको मायाको घुम्टो ओड्न पाए,तर ती सबै मित्था सपना र कोरा कल्पना मात्र हुन्छन। अतीत एउटा चलचित्र बाहेक केही होइन,आँखाको पर्दामा बिम्बित हुन्छन दिमागको प्रोजेक्टरले बिना स्क्याच,बिना अवरोध ।

आस्विन/कात्तिकको महिना थियो,सारा वातावरण खुल्ला,चाडपर्वको वहारले साना ठुला सबैको मन पुलकित थियो।खुशी लिएर आउदै थियो हिन्दुहरुको महान चाड दशै हामी नेपालिको जीवनमा ।चाडको चटारोले घ्याप्पै छोपिसकेको थियो ठूलालाइ। बजार जानेहरुको बाटोको लर्कोले यहि संकेत गर्थियो।दर्जी साइला मामाको भ्याइ नभाइले मैले नयाँ लुगा अझै पाएको थिइन,दिन दिन धाउथे तर भान्जे भोलि ल आज तयारी छैन भन्थे साइला मामा,कता कता रीस उठ्यो,तर पनि रिसाएर हुनेवाला केही थिएन। सधैँ सधैँ धाउने मेरो दैनिकि भएको थियो ।एक दिन फेरि म पुगे साइला दर्जी मामाको घरमा नयाँ लुगा हेर्ने धोकोले।मेरो प्यान्ट त तयार रैछ तर कमिज तयार थिएन,पेन्ट देखेर यो भुरा मन पुल्पुलियो।मामाकोमा चिया खाने बेला भएको थियो,माइजूले चिया मामालाइ दिनुभयो,तर मलाइ दिनुभएन।कसरी देखाइ देखाइ खान सकेका होलान म सोच मग्न भए, भान्जा चिया पिउने हो?दर्जी मामाको प्रस्नले म तन्द्रा भंग भयो । खाने नि किन नखाने मैले भने । दर्जी मामाले माइजूलाइ आदेश दिए,भान्जेलाइ चिया दे,भित्रबाट माइजू बोलिन-" नाइ नाइ भान्जे हामिले छोएको खानु हुन्न,जात जान्छ।" तर मैले मानिन ,मलाइ जात कसरी  जादो रैछ हेर्नू थियो । दर्जिनी माइजूले "अरुले देखे भने हामिलाइनै नराम्रो देख्छन बच्चालाइ फकाएर चिया पिलाएको आरोप लाग्छ होस बाबुराजा ज्ञानी हुनुस जिद्दी नगर्नुस " भनिन । तर मैले मानिन नुन हालेकै भए पनि मलाइ त्यो दिनको चियाको लोभ कति थियो,खोइ किन किन ? अन्त्यमा माइजूको जोड केही चलेन मेरो जिद्दिको सामु ।


म चिया पिउदै थिएँ,सेन्दाङ ठूले कपडा छेकाउन आएछन,मैले चिया पिउदै गरेको देखेर आत्तिदै भने लु भान्जाले यहाँ चिया पिएको?अब हजुरबाले थाहा पाउनु भो भने घर भित्र पस्न दिनुहुन्न,सुनपानीले छर्किएर त शुद्ध पार्न सकिन्छ तर बाबैले त्यसो गर्न मान्ने हुन नहुन,अब यी भान्जाराजाको बसाइ पराल राख्ने खोल्मामा हुने भो ।मलाइ अब भने डर लाग्न थाल्यो,जात जाने पीरले होइन खोल्मामा बस्नु पर्ला भन्ने पीरले,मन बुझ्दै बुझेन,कता कता मन भक्कानिएर आयो,आँसुलाइ परेलिको बारले छेक्न सकेन,गलाको भिर हुँदै आँसु गड्गडाएर बग्न थाल्यो,अब के गर्ने सोच्न सक्ने स्थिती भएन।मनमा यति अहुडा भएर आयो,त्यो सम्झिदा आज पनि मन भयबित हुन्छ।अब मेरो रुवाइको स्वरुप आँखामा आँसुमा सिमित भएन,हुवा हुवा डाको छोडेर रुन थाले,सायद मनको डर आँखाबाट निस्किएको आँसुले धुने असफल प्रयास गर्दै थिएँ।मेरो रुवाइ देखेर सेन्दाङ मामालाइ पनि दया लाग्यो क्यार," लु भान्जा रुनु पर्दैन,चुपचाप घर जाउ,यहाँ खाएको कुरा तिमिले कसैलाइ नगर्नु,म पनि गर्दिन ।" सेन्दाङ मामाको सान्त्वना रुपि शब्दले केही मन हलुका भयो।अनि केही डर, केही हिम्मत,केही जात गएकोमा आत्मालोचना बोकेर ओरालो झरे।घर पुगेर भित्र छिर्न मन मानेन, मनको भारीले थलिएर म थ्याच्च पिढिमा बसे,लामो सुस्केरा हाले । "ओइ कहाँ गएको थिइस?" हजुरआमाको आवाजले झसङ्ग भएँ,गोलबोलीमा भने खेल्न। "लु खाजा भित्र आलमारीमा छ खा ।" हजुरआमाले भन्नूभयो आफुलाइ भने केही खाने मुड थिएन,वास्तवमा सुनपानीले शुद्द हुने मौका खोज्दै थिएँ।नुहाउन हिम्मत भएन,साँझ परेर जोडोले किल्ला जमाइ सकेको थियो । त्यसै पनि जाडो महिनामा मलाइ नुहाउन ३/४ जना चाहिन्थियो ।यसरी मौका खोज्दा खोज्दै रात पर्‍यो,मन नलागी नलागी केही गाँस च्यापेर म मतान तिर सुत्न गएँ,मतानको खोपामा माइजूको सुनको औँठी देखे,पिउन लगेको पानीमा औँठी डुबाएँ,अनि शिरमा,शरिरमा पानी छर्किएँ,मन मनै मेरो गएको जात आइज आइज भन्ने मन्त्र पढे अनि सुते।राती सपनामा खोइ को को आए,यसको जात गयो,यो दमाई हो भनेको मात्र देखे ।रातको छट्पटीले ढिलो निदाइयो,अनि निन्द्रामा देखेको सपनाले झन भारी पारेको रैछ शरीर,बिहान १० बजे मात्र निन्द्रा खुल्लो,त्यो पनि माइजूले बोलाए पछि।बाहिर निस्किएँ अहो! बाहिरको दृष्यले म भन्भनिएँ,आफुले टेकेको भुमी भाँसिएको झै भएर आयो,रुन पनि सकिन,हाँस्न त नियतीनै बाधक ।

म फेरि मतानमै पसे,सिरकले मुख छोपेर,आँसुलाइ बन्धन मुक्त पार्दे,बग्न दिएँ आँसुलाइ । बाहिर सबै खुशी थिए,रमाइ रहेका थिए तर म दुखित धेरै दुखित थिएँ । नियतीले कति अन्याय गरेका हुन,यो हर्षको पर्वमा पनि आँसुको आहालमा पौडीनु के मेरो नियतीनै हो त ?आफैले आफैलाइ प्रश्न गरे,जवाफ खिज्ने जमर्को गरे तर शुन्य हात लाग्यो ।हिजो सम्म मेरो खेल्ने साथी आज टुक्रा टुक्रा भएको थियो,हो मलाइ खसिको मासु मीठो लाग्छ तर मेरो तिलकानेको मासु म कसरी खान सक्छु,उसको घाटीमा दुई वटा घण्टी जस्तो लुर्का हुनाले उसको नाम तिलकाने राखिएको थियो,पोहोर त जन्मिएको थियो उ ।बिचरा कति छोटो उमेर लिएर आएको रैछ है?मेरो बिहान,बेलिकी खेल्ने साथी उ त थियो। अब भोलि देखि को सँग खेल्ने म ?दुख्यो मन यो दुखाइको मल्हम के होला?हिजो त हो घाँस काटेर उसलाइ मैले हाल्दिएको,मेरो अन्तिम गाँस सधै उनै खान्थियो,अब मैले मेरो थालमा बचेको खाना कसलाइ दिने? साँच्चै पीडा भो मलाइ खपी सक्नु भएन,म हलुङ्गो पार्न आँसु बगाइ रहे अब त आँसु पनि सकिसकेछ आँखा सुक्खा थिए।सिरक बाहिरबाट तिलकानेले सिङले मेरो खुट्टामा खेले जस्तो लाग्यो,म जुरुक्क उठेर कराएँछु तिलकाने भनेर,मेरो आवाजले सबै मतान तिए आउनु भयो,मेरो आँखा रातो रातो देखेर के भयो भनेर सोध्नुभयो,म सँग जवाफ थिएन,म चुपचाप बसे,सानिमाले जा मुख धोएर आइज अनि मासु र भात खानु पर्छ भन्नू भयो । भारी मन लिएर पधेरामा गएर मुख धोएर आएँ,खाना खान बसे,तर गाँस निल्न सकिन,मेरो आँखा फेरि सजल भए,आखिए मान्छेले बिचरा खसिहरुलाइ काटेर किन खाएका होलान है,हजुरआमालाई प्रश्न गरे ।हजुरआमाले चुपचाप खाएर बाहिर जा भन्नू भयो र बाहिर जानू भयो,त्यो मौकालाइ सदुपयोग गर्दै सबै खाना र्छ्यानमा फ्याल्दिए।

तिलकानेको यादले त्यो दशै मैले खल्लो खल्लो बिताए । साइला दर्जी मामाकोमा खाएको भए पनि मेरो जात गएन तर पनि त्यो दशै राम्रो भएन । त्यो दिन देखि आज सम्म मासु खादा मलाइ तिलकानेको याद आउँछ,खोइ किन किन मासु नखाउ भन्दा पनि मनले मानेको छैन,आत्माले मागेको खानु रे त्यसैले मासु छोड्न सकेको छैन ।

निराजन प्रभात लुइँटेल
झापा नेपाल
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive