Thursday, August 27, 2015

नेता ज्यु, सडकमा टायर बालेर हो देश विकास हुने ?

देश हिजोआज कुन दिशामा बग्दैछ कसैलाई थाहा छैन । दिनदिनैको बन्द र हड्तालले देश झन्-झन् अधोगतितर्फ लाग्दैछ । हो, हामीलाई देशको चिन्ता छ; तर बाध्यताको जंजिरले बाँधिएर अरबभूमिमा श्रम र पसिना बगाउँदै छौँ । टायर बालेर र ढुङ्गामूढा गरेर आखिर देशलाई कुन स्थानमा पुर्याउने सोच छ होला यी आन्दोलनकारीको? आन्दोलनले देशलाई प्रगतितर्फ नभएर दुर्गतितर्फ धकेलिरहेको तथ्य कसले सम्झाउने होला यी आन्दोलनकारीलाई? सम्झाएर पनि सम्झिने मनुख्य हुन र यी ?  ‘मस्त निद्रामा हुनेलाइ उठाउन सजिलो हुन्छ तर निदाएजस्तो गर्नेलाई उठाउन कठीन ।’ हो, त्यस्तै हुन् यी कथित आन्दोलनकारीहरु पनि, बुझेर पनि बुझ पचाउने कुलंघारहरु !
बन्दले बाल मस्तिष्कमा परेको एउटा सानो उदाहरण दिन्छु म, हेर्दा सानो देखिए पनि यो विषय पक्कै सोचनीय छ । कुरा मेरो आफ्नै छोराको हो, प्ले ग्रुपमा भर्खर भर्ना भएको छोरा शनिवार पनि स्कुल जान्छु भनेर लुगा लगाएर ठीक पर्छ, यति मात्र होइन आज गाडी किन आएन भनेर साइकलमा स्कुल पुर्याइदिन पनि कर गर्छ । कहिलेकाहिं त उसलाई स्कुल बाहिर लगेर मात्रै भए पनि बन्द-गेट देखाएर फर्काउनु पर्ने भएकोले यो कुरामा श्रीमतिको सधैं गुनासो रहन्छ। उसलाई पढ्न भन्दा पनि स्कुल जानका लागि खेल्ने साथी र अनेक किसिममा गुडियाले लोभ्याएको पक्का हो । तर अस्तिको बन्दको दृश्यले ऊ हिजोआज ‘स्कुल जान्न म, ढुङ्गा बोकेर मान्छे आउँछ’ भन्छ रे! बल्लबल्ल फकाएर स्कुल लैजानुपर्ने बाध्यता छ रे हिजोआज । एकै दिनमा कसरी असर पर्यो बाल मस्तिष्कमा? बन्दकर्ताहरुले कहिले स्कुल कलेजलाई बन्द निषेधित क्षेत्र घोषणा गर्नेहुन्? कहिलेसम्म बच्चादेखि नै त्रास भोग्नु नपर्ने हो ? यो विषयमा कहिले गम्भीर हुने हामी ? यो स्थानमा बन्द गराउँदै हिड्नेहरुको बच्चा नहोलान त? आफू त मानसिक रोगी भए भए, आफ्नो सन्तानलाई समेत त्यो रोगको शिकार बनाउने भए । चिन्ता हाम्रो होइन, अब आउने पिंढीको भविष्यको बारेमा चिन्तन गर्ने शक्ति यदी यिनीहरुमा आउँदो हो त यी र यस्ता घटना घट्ने थिएनन् कि? तर खोई? बिर्को लागेको बुद्धि कहिले खुल्ने हो ? कहिले घाम पूर्वबाट उदाउने हो क्षितिज भरीको अँध्यारो चिर्दै ?

पहिलो कुरा त बन्द गर्नु नै गलत छ । होइन, बन्द गर्नैपर्ने भए जनतालाई प्रत्यक्ष असर नपर्ने गरेर गर्न सकिन्न? सृजनशील ढंगले बन्दको बिकल्प खोज्न सकिन्न? आज एउटा तीक्ष्ण स्टाटस पढें फेसबुकमा, ‘यदी बन्द गर्दै हिंडेको बेला प्रहरीले पक्राउ गरेमा, उसले प्रहरी रिपोर्ट नपाउने, कुनै सरकारी जागिरका लागि अयोग्य घोषित हुने, पासपोर्ट नबन्ने आदि नियम बनाउने हो भने आन्दोलनकारी ५० प्रतिशतले कम हुन्छन् ।’ हो, पक्कै पनि सबैलाई आफ्नो भविष्यको चिन्ता हुन्छ, यसो गर्नसक्दा केही हदसम्म आन्दोलनकारी कम हुन्छन् । तर यसैसँग जोडिएको अर्को गम्भीर कुरोलाई नजरअन्दाज गर्न सकिन्न । यदी यस्तो नियम नै बन्यो भने, जो आन्दोलन गर्दै हिंड्छ ऊ झन् खुङखार अपराधी भएर निस्किने त होइन? ‘ल्याङफ्यागे मान्छेको भत्किएको घर, भत्किएको घरको मलाई केको डर?’ भने झैं भयो भने? यसरी हेर्दा बोल्न सजिलो छ तर त्यसको दूरगामी असर नहेरी बोल्नु/सोच्नु घातक हुनेछ ।
आन्दोलन/बन्द हुँदा अग्रभागमा युवाहरु नै देखिन्छन् , यसबाट सजिलै अनुमान गर्न सकिन्छ कि यदी युवाहरु रोजगार भए भने बन्द हड्ताल गराउन खोज्नेहरुको दाल गल्दैन । त्यसैले युवा रोजगार नहुँदासम्म र एक बोतल रक्सिमा बिक्दासम्म देशमा आन्दोलन, बन्द गराउनेहरुले युवालाई ढाल बनाइनै रहनेछन् । अब हामी युवाले केही सोच्ने बेला आएको छ, देशको खाँतिर! ज्यान आहुती दिएर होइन, आफू बाँचेर गर्ने बेला हो यो । सहीद हुन सजिलो छ तर बाँचेर सच्चा देशभक्त हुनु भनेको फलामको चिउरा चपाउनुजस्तै हो । सरकारले त गरेन, गरेन अब हामीले किन नगर्ने ? यसरी सोचौं न अब ।

युवाशक्तिले विभिन्न काल-खण्डमा देशको निम्ति लडेको इतिहास साक्षी छ, अब बेला आएको छ देशलाइ यो संक्रमित कालखण्डबाट निकाल्ने । बाटोमा टायर, मसाल बोक्ने हातले देश निर्माण गर्नुछ । यी विवेक खोपी पसेका केही झुण्डलाइ सहयोग गर्ने युवाशक्ति आउनुस्, हामी देश बनाउने सपथ खाउँ । हामीले नगरे अब कसले गर्छ? कहिलेसम्म हामी जात, धर्म, सम्प्रदायको कुरामा लड्ने? के एउटा मानव धर्म काफी छैन? जीवन, आस्था सबैको आ-आफ्नो होला, रीतिरिवाज आ-आफ्नो होला तर हामी एक जात हौँ यो कहिले सोच्ने? अर्काको धर्मको आलोचना, एक मुट्ठी शाषकले गरेको शोषणले पूरा जाति, सम्प्रदायलाई नै धज्जी उडाउन्जेल सराप्नु आजको युवाको माग हो? दुई मिनेट सोच्नुस् अनि छातिमा हात राखेर बोल्नुस् हजुरले गालि कसलाई गर्दै हुनुहुन्छ? आफ्नो देशकै दाजुभाइलाई कि पराइलाइ? एउटा भाइको आलोचना गरेर अर्को भाइलाइ शान्ती मिल्छ त? हिजो कसले के गर्यो त्यो इतिहास हो, आज के हुँदैछ त्यो वर्तमान हो । इतिहास पल्टाउने हो भने धेरै दर्दभरी कहानी आउनेछन् झल्झली मथिङगलमा । तर त्यो हेरेर होइन, वर्तमान स्थिति हेरेर भविष्यनिर्माण आजको युगको माग हो । आकाशमा हेरेर थुक्नु मुर्खता हो, त्यो मुर्खता नगरौ । सिंगो देश हाम्रो हो सोचौं । यसैमा सबैको कल्याण छ ।


Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive