Sunday, October 26, 2014

संस्मरण-तिहारले रुवाउदा!

                         हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा मैले बालाई सोध्ने आँट गरिन त्यो बेला,आज सोच्दा लाग्छ ठिकै गरेछु।गाउँ घरमा तिहारको रमाइलो सुरु भैसकेको थियो,तर मलाइ तिहारको रौनकले छोएको थिएन,सबै देउसी खेल्ने पैसा भेला गर्ने योजना बुन्दै थिए,तर म भने अझै भगवानलाइ किन दिदी,बहिनी नदिएको प्रश्न गरेर दिन बिताउदै थिएँ।यो तिहार म जस्ता दिदी बहिनी नहुनेलाइ रुवाउननै आएको हो भन्ने लाग्न थालेको थियो।
                       त्यो  उमेरमा तिहार भनेको डाइस खेल्ने,पटका पड्काउने,अनि देउसी खेलेर पैसा जम्मा गर्ने भन्ने न थियो।उमेरले गराएको होला त्यो सब,सबैलाई।मेरो दाजु पनि खुशिनै थियो,तर म भन्ने अलग जन्तु परेछु सधैँ तनाव,सधैँ चिन्ता।कस्तो दैवको खेलपनि न ठुलोबाबाको छोरी थिए,म मेरो बाबाको। काकाहरूको भने विवाहनै भएको थिएन।ठुलोबाबाको पनि दुई भाइ तिग्रेमात्र हामी पनि।ठूलोबाबाको एक जना छोरी हुनुहुन्थियो रे,हामी भाइहरुलाई धेरै माया पनि गर्ने रे तर खोइ औलो हो कि के रोगले उहाँलाई टिपेर लग्यो रे,यो घटना सुनेर त झन् मेरो मन यो भगवान् देखि उठयो,भगवाननै छैन भन्ने भएको थियो।त्यसैले मैले त्यो समयमा मन्दिर कहिले धाइन,मेरै उमेरका साथीहरू आमा दिदी सँग मन्दिर जान्थे तर मलाइ त्यो रहर पलाएन,आखिर हुँदै नभएको देवतालाई किन पूजा गर्ने होला?त्यस माथि लक्ष्मी प्रसादको कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता अंकल(छिमेकी)ले पढेको सुने मलाई आगोमा घ्यु भयो।सबै तिहारमा लक्ष्मी पूज्ने म भने बाहिर खुल्ला आकाशमा त्यो कालो रात हेरेर बस्थे।आज आएर हेर्दा म पूरा नास्तिकनै पो रैछु कि जस्तो लाग्छ।

                        दिदी बहिनीको ममता,अरूको दिदी-भाइ,दाजु-बहिनी झगडा गरेको देख्दा पनि माल पाएर चाल नपाएको जस्तो लाग्थियो,मलाइ दया लाग्थियो नाताको अर्थ नबुझेकोमा।एक दिन पल्लो गाउँको रामेले भुन्टीलाई चिठ्ठी लेखेछ,त्यो कुरा भुन्टीको दाजुले थाहा पाएछ।रामेलाई भुन्टीको दाजुले भकुरेको देखेर मलाइ पनि मनमा भावना आयो,अहो! मेरो पनि दिदी हुन्थिन भने कसैले त प्रेम पत्र लेख्थियो,अनि म पनि त्यो मान्छेलाई यसरीनै कुट्न पाउथे।मनमा उमंग पो छाएर आयो,त्यो उमेरमा न म प्रेमको अर्थ बुझ्थे,न किन कुटेको होलानै भ्याउ पाउथे,तर यो मनमा अनेक तर्कना आउथे,मनलाई रुवाथे,हसाउथे,यो कोमल मनमाथि खेल्थे जान्थे।सोच बाट बाहिर आउदा त सबै शून्य,उही पुरानै उही उस्तै-दुरुस्तै हुन्थे।वास्तविक संसारमा आए पछि उही दिदी बहिनी बिनाको घर,अनि आँसुले भरिएको आँखा।
                      तिहार,अनि राखी(रक्षा बन्धन)मा म सधैँ धेरै एक्लो भएको महसुस गर्थे,अरूको गलामा माला,निधारमा टिका देख्दा यो मन हुडहुड हुन्थियो,आँखा रसाउथे,तिहारमा त बाबा घरमा आउनु भयो भने फुपु दिदीको घर गएर टिका लगाइन्थियो,तर राखिमा रित्तै,सबै नाडी भरी भरी राखी लगाएर हिड्थे,दिदीले यो दिनु भयो,बहिलेने यो दिनु भयो भनेरे मलाइ जलाउथे जानी जानी या अन्जनमा।यी बाहेक हामीले दिदी बहिनी नहुदाको सास्ती खेप्ने भनेको ममी पन्सिदा(महिनावारी हुदा) चार दिन हो।घरको खाना पकाउने भाँडा मस्काउने सबै गर्दा झन् यो मन आत्तिन्थियो,दु:खि हुन्थियो,आखिर दिदी भएको भए यो सबै त गर्नु नपर्ने थियो।यदि सरापेरनै नास हुने हो भने यदि भगवान् भए पनि मासिए होलान् मेरो सरापले,मेरो गालीले।

                          एक दिन स्कुलबाट घर आउदा एक सानी बहिनी हाम्रो घरमा सुताइ रहेको रैछ,यता उता हेरे कोही छैन,ममी पनि घरमा हुनुहुन्न।केही समय त्यो सानी नानीलाई हेरे,आँखामा,नाकमा,कानमा,गालामा,निधारमा चुम्मन गरे।एक प्रकारले म अलौकिक लोकमा पुगे,जहाँ हामी अनि सानी गुडीयाँ जस्तो बहिनी थिई।गुडिया जस्ती प्यारी। गुडीया निदाएकै थिई,तर घरमा कसैको पनि चालचुल थिएन,अहो! यो गुडीया त ममीले हाम्रो लागीनै जन्माउनु भएको रैछ जस्तो लाग्यो।अनि बाहिर निस्किएर ममी ममी भनेर कराएँ,मेरो आवाजले नानी पनि उठी,अब झन् फसाद पर्‍यो,अब रुने होला,कसरी फकाउने होला।आफूलाई केही थाहा छैन,बुबु खान दिनु पर्छ भनेको सुनेको थिएँ फकाउन अनि म गए,आफ्नो सर्ट खोलेर मेरो बुबु नानीलाइ दिएँ।आज सम्झिदा पनि मरी मरी हास्न मन लाग्छ।कस्तो उल्का है समय?माया पनि कस्तो है। मेरो त्यो बुबु तानेर के पाउने होर मुख मात्र गलेछ होला तान्दा तान्दा नानी त झन् रुन थाली,बोके बोक्न जानेको भएपो,अप्ठयारो भयो होला झन् हुहुहुहु गर्न थाली।म डराएँ,आत्तिए।फेरी बाहिर गएर कराएँ, ममी तपाइले जन्माउनु भएको बहिनी रुदै छिन,चाडै आउनु।माथ्लो घरको आन्टी मरी मरी हास्नु भयो,"कसले जन्माएको रे कान्छो,कसको बहिनी रे कान्छो?" भन्दै। अब भने म लाई लाज लाग्यो,म रातो पिरो भए।त्यसै बेला ममी आउनु भयो साथमा एक आन्टी।यो सबै कुरो सुनेर ममी अनि आन्टी पनि हास्नु भयो,मलाई मर्नु भयो।ती नानी,गुडिया त ती ममी सँग आउने आन्टीको बच्ची पो रैछिन्।
                           चारै तिर तिहारको चटारो थियो,सबै घर सझाउन व्यस्त थिए।हामी पनि आँगन सफा गर्न,दियो(प्याला)सफा गर्न,दियो राख्न कोलाको थम्मा गाँड्न व्यस्त थियौ।सबै दुख भुलेर मनाउनु पर्छ चाड मेरो बाबाले भन्नु भएको।त्यसै ताका फोन आएछ बाबाको म पनि कुदे ममीको पछि पछि।ममीले कुरा गर्नु भयो पहिला ,पछि मैले पनि कुरा गरे,बाबाले भन्नु भयो यो तिहारमा म आउन्न पाउन्न,सबैको पालो पुर्‍याउनु पर्छ,अस्ति दसैँमा मेरो पालो अब अरूको,चिन्ता नगर्नु तिहार राम्रो सँग मनाउनु भन्नु भयो बाबाले,मैले प्रश्न गरे"अनि हजुर नभए पछि हामी कसरी फुपुकोमा जाने?कि हामीलाई फुपुकोमा लग्दिनु पर्छ,कि मलाई बहिनी एक बनाइदिनु पर्छ।"मेरो यो कुरा सुनेर बाबा भावुक हुनु भयो।छिमेकी दिदीकोमा गएर टिका लगाउनु,ममी सँग पैसा मागेर लग्नु अनि दिनु रित्तै टिका लगाउनु हुन्न है भन्नु भयो।के टिका,आशीर्वाद पनि पैसामा किन्ने होर बाबा भन्न मन लागेको थियो तर त्यो जवाफ बाहिर ल्याइन,हुन्छ बाबा भनेर फोन फेरी ममिलाई दिएर म गएँ।
                           

                    त्यो दिन भाइ टिकाको दिन,सबेरै उठेर नुवाइ-धुवाइ गरियो,मन खुसी थियो,घरमा मामाहरू पनि आउनु भएको थियो।टिकाको साइत १०:२३ मा थियो क्यारे,आफूलाई हतार भएको थियो टिका लगाउन,टिका लगाएर फेरी पैसा कमाउन जानु पर्ने जो थियो।छिमेकी आन्टीको छोरीकोमा १०:१५ मा गयौ टिका लगाउन,हामी जादा उनले आफ्नो दाजु भाइलाई टिका लगाउन,छेक्दै रैछिन्,मैले भने हामी पनि सँगै बस्छौ भने,आन्टीले हुन्न हुन्न पर्ख-पर्ख तिमीहरू बाहिरनै बस,यिनीहरूलाई लगाइ सकेर दिदीले केही खान्छे अनि तिमीहरु लगाउनु है भन्नु भयो।सानै थिएँ तर पनि मन दुख्यो,आफ्नो दिदी नहुदाको पीडा भन्दै मन बुझाए,खोइ दाजुले पनि के सोच्यो कुन्नि हिड भाइ घर जाऊ भन्यो,मैले मानिन।हामी बाहिरनै बस्यौ।लगभग एक घण्टा पछि हामीलाई भित्र बोलाइयो,हामीलाई बाटोमा ओखर राखेर पूजा गरिएन,दुबोले तेलको धर्को पनि बनाइएन,कपालमा तेल लगाएर कपाल पनि कोरिएन।कता कता भक्कानो भुट्ला जस्तो भयो,भित्री मन रोयो,बाहिर भने मैले मुस्काननै छारीरहे।टिका मात्र लगाइयो,घागोमा कता कता हो कि जस्तो फूल भएको माला भिराइयो हाम्रो गलामा।टिका लगाइदिएको जस्तो मात्र भयो,हामीले ममीबाट ल्याएको ५०-५० रुपयाँ दिएर खुट्टामै ढोग गर्‍यौ।हामीलाई पनि खाना आयो,खानामा एउटा सेल अनि एक दुई वटा किसमिस,काजु राखिएको थियो,उनको भाइहरुलाई नयाँ नयाँ लुगा हामीलाई खोइ जस्तो भयो मेरो बाल मन,अब भने मन थाम्न सकिन र कुवाँ कुवाँ रुन थाले।हाम्रो पनि दिदी भएको भए सम्झि रहे आँसुको खहरेमा डुब्दै।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive